बोर्ड़ो मिश्रण कसरी बनाउने? (Preparation of Bordeaux Mixture)

फाल्गुन १०, २०७८  |  Grishma Guragain

farming blog cover img

निलोतुथो, चुना र पानीको निश्चित मात्रा मिलाई बनाइएको मिश्रणलाई बोर्ड़ो मिश्रण भनिन्छ l यसलाई ढुसीनासक विषादीको रूपमा प्रयोग गरिन्छ l 

आवश्यक सामग्री:

-निलो तुथो

-चुना

-पानी

-३ ओटा भाँडो

विधि :

-दुईवटा भाँडोमा आधा-आधा लिटर पानी लिने जसमध्ये एउटा भाँडोमा १० ग्राम निलोतुथो हाल्ने र अर्को भाँडोमा १० ग्राम चुना हालेर फिट्ने l

-दुवै भाँडोको घोललाई तेस्रो भाँडोमा एकसाथ बिस्तारै खन्याउंदै काठले घोलेर मिसाउने l

-तेस्रो भाँडो छैन भने चुना र पानीको घोल भएको भाँडोमा निलोतुथोको घोल बिस्तारै हाल्दै काठले चलाउँदै मिसाउने l एकैपटक खन्याएमा अथवा निलोतुथोको भाँडोमा चुनको घोल खन्याएमा बोर्ड़ो मिश्रण फाट्छ र गिर्खा बन्छ जुन छर्किनको लागि काम लाग्दैन l 

-यसरी तयार गरिएको बोर्ड़ो मिश्रण 24 घण्टाभित्र प्रयोग गर्नुपर्छ l तयारी जांच नगरी खिया आउने अवस्थाको मिश्रण प्रयोग गरेमा बिरुवाको पात जल्न सक्छ l माथि दिएको मात्राबाट बनाइएको मिश्रण १ प्रतिशतको बन्छ l बिरुवाको अवस्थाअनुसार ०.५ देखि १% बोर्ड़ो मिश्रणको प्रयोग गर्नुपर्छ l    

तयार भएको जांच:

बोर्ड़ो मिश्रण तयार भए नभएको जांच गर्नको लागि एउटा सफा ब्लेड अथवा फलाम को कुनै वस्तु जस्तै काँटी, चक्कु वा छड १ मिनेट सम्म डुबाएर हेर्दा यदि खैरो रंग पोतिएको देखियो भने निलोतुथो बढी भएको बुझ्नुपर्छ र चुनको मात्रा थप्दै जानुपर्छ l खैरो रंग आउन छोडेपछि निलोतुथो तयार भएको बुझ्न सकिन्छ l

ध्यान दिनुपर्ने कुरा :
-चुना ढिक्कावाला हुनु पर्छ ; पानी सोसेर धुलो भएको चुनबाट गुणस्तरीय मिश्रण बन्दैन l

-ढिक्कावाला निलो तुथोलाई प्रयोग गर्नुअघि पिसेर धुलो बनाउनुपर्छ l

-धातुको भाँडा प्रयोग गर्नुहुँदैन ; प्लास्टिक, माटो वा काठको भाँडो प्रयोग गर्नुपर्छ l

-धेरै घाम लागेको, पानी परेको र बिरुवाको पालुवा पलाएको कलिलो पात भएको अवस्थामा बोर्डो मिश्रणको प्रयोग गर्नु हुँदैन l

-मिश्रणलाई स्प्रेयारबाट प्रयोग गर्दा नोज़ल बन्द हुनसक्ने भएर छानेर प्रयोग गर्नुपर्छ l 

-मिश्रणलाई कुनै विषादी वा रसायनसंग प्रयोग गर्नु हुँदैन l 

स्रोत : कृषि सूचना तथा परिक्षण केन्द्र 


 



प्रकाशित : फाल्गुन १०, २०७८